छवि र शिल्पाको विवाह खारेज हुने !
त्रिशुलीखबर
July 25, 2019


काठमाडौं । नेपाली चलचित्रका निर्माता छबिराज ओझासँग आधाभँदा बढी फरक उमेरमा बिबाह गरेकी नायिका शिल्पा पोख्रेलको विबाह खारेज हुने भएको छ। छविकी जेठी श्रीमती हेमा ओझाले श्रीमान्को सम्बन्धका बारेमा अदालतमा मुद्धा दर्ता गराएपछि शिल्पा-छविबीचको विबाह खारेज हुने भएको हो।

हेमाको मुद्दा हेरिरहेका वकिल स्वागत नेपालले अदालतले हेमाको पक्षमा फैसला गरी बहुविवाह प्रमाणित भएमा प्रचलित कानुन अनुसार शिल्पासँगको छविको विवाह स्वतः खारेज हुने बताए । उनले भने, ‘यस्तो अवस्थामा शिल्पाजीले सम्बन्ध विच्छेदको जाहेरीसँगै दाबी गरे अनुरूपको अंश पाउनु हुन्न, उहाँहरूबिचको विवाह नै बदर हुनेछ।’

हेमाले छविसँग अंश लिइसके पनि दुवै आपसी मञ्जुरीमा अलगअलग बस्दै आएका थिए। यस्तो अवस्थामा छविले अर्को विवाह गर्न नपाउने र यदी विबाह गरेको खण्डमा बहुविवाह स्वतः प्रमाणित हुने अधिबक्ता नेपालको भनाइ छ। ‘अंश लिए पनि हेमाले छविलाई पति नै मानेर बस्छु र कामको सिलसिलामा अलग बस्दा आपत्ति हुने छैन भन्ने आपसी सहमतीमा हेमा र छवि रहेकाले अर्को विवाह गर्नु बहुविवाह हुने भनी कानुनले बोल्छ,’ अधिवक्ता नेपालले भने।

नायिका शिल्पाले भने यस विषयमा हेमाको जाहेरी ग्रान्ड डिजाइनमा आएकोले अहिल्यै केही नबोल्ने बताएकी छिन् ।

हेमापछि पनि छविको गीताञ्जली सुनार र रेखा थापासँग वैवाहिक सम्बन्ध रहेको थियो। गीताञ्जलीको निधन भइसकेको छ भने रेखासँगको विवाह प्रमाणित नहुदै उनीहरू छुटीसकेका छन्।

टिप्पणी लेख्नुहोस्