अज्ञात समूहले जलायो अदालतको गाडी
त्रिशुलीखबर
July 26, 2019


नवलपरासी, १० साउन । पूर्वीनवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ। नवलपुर जिल्ला अदालतको बा२झ ३५२० नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अर्जुन रानाभाटले जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै आएको गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको जानकारी दिएका छन्। उनका अनुसार आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ।

बडु भाडामा बस्दै आएको कावासोती ८ स्थित थकाली चोकका अर्जुनकुमार श्रेष्ठको घरमा गाडी पार्किङ गरेर राखिएको थियो। राति सोही घरमा बस्दै आएका झपटबहादुर कुँवरलगायतले आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। राति नै प्रहरी, स्थानीयवासी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ।

प्रतिवन्धित नेकपाले केही दिनअघि सरकारी गाडी चल्न नदिने चेतावनी दिएकाले घटनामा उसैको संलग्नता हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

टिप्पणी लेख्नुहोस्