सुत्केरीको अकालमा ज्यान गएको भन्दै स्थानीयको विरोध, सहमतीका लागि वार्ता जारी
त्रिशुलीखबर
July 26, 2019


नुवाकोट, १० असार । जिल्ला अस्पताल त्रिशुलीको चरम लापर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनका परिवारजन र आफन्तले सडक अवरुद्ध गरेका छन्। स्थानीय विरोधमा उत्रिएपछि अस्पताल प्रशासन, स्थानीय निकाय, प्रहरी र आन्दोलनरत पक्षविच सहमतीका लागि वार्ता भइरहेको बताइएको छ।

बिहीबार सुत्केरी गराउन भन्दै त्रिशुली अस्पताल भर्ना भएकी ३५ बर्षीय गोमा वस्तीको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको थियो।

आन्दोलनकारीले वेलकोटगढी नगरपालिका ७ महादेव फाँट लगायतका स्थानमा सडकमा काठको मुढा राखेर सडक अवरुद्ध पारेका छन्। उच्च रक्तस्रावका कारण मृत्यु भएकी वस्तीलाई तुरुन्त काठमाडौं अस्पताल लैजान धेरै प्रयास गरेपनि अस्पताल प्रशासन, गृह मन्त्रालय तथा सरकारको लापर्वाहीले मृत्यु भएको भनी उनीहरुले आन्दोलन थालेका हुन्। मृतकका आफन्तले क्षतिपुर्तिको माग गरिरहेको स्थानीय नारायण नेपालले त्रिशुलीखबरलाई बताएका छन्। अहिले सो सडकखण्डमा सवारीसाधन गुडेका छैनन्।

यसैबिच सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी, अस्पताल प्रशासन, मृतकका आफन्तबीच वार्ता भइरहेको बताइएको छ। सहमति भने अझै भइ नसकेको नेपालले बताए।

सुत्केरी आमाको मृत्यु भएपनि उनको नवजात शिशु भने सकुशल छन्। उनीहरुले बच्चाको नाममा बैंक खातामा तारकेश्वर गाउँपालिकाबाट १ लाख, अस्पताल विकास समितिबाट ५० हजार र प्रशासन कार्यालयबाट थप रकम जुटाउन पहल भइरहेको बताएका छन्। यसैगरी घटनाको सम्बन्धमा अस्पताल विकास समितिले छानबिन समिति बनाएर अहिलेको घटनाको समिक्षासहित दोषी देखिए कारर्बाही गरिनु पर्ने र आउने दिनमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता दिनुपर्ने माग राखेका छन्।

विरामीलाई प्राइभेट हेलिकप्टरले नुवाकोटबाट काठमाडौं टिचिङ अस्पताल उतारेको थियो। आन्दोलनरत पक्षले यस विषयमा विदुर नगरपालिकाले हेलिकप्टर भाडा बेहोर्ने सहमती गर्ने गरी छलफल भएको बताएका छन्।

प्रहरीले भने लामो तथा छोटो दुरीका सर्वसाधारण मर्कामा परेको भन्दै आन्दोलनरत पक्षलाई बाटो खुलाएर सहमती खोज्न अनुरोध गरेको छ। सडक अवरुद्ध भएपछि करिव २ सयभन्दा बढी सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

टिप्पणी लेख्नुहोस्