कुवेतविरुद्ध नेपालको शानदार जीत, पारसको विस्फोटक ब्याटिङ
त्रिशुलीखबर
July 27, 2019


काठमाडौं, ११ साउन । कप्तान पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ। कप्तान पारसले मात्र ४२ बलमा ६८ रन बनाएपछि नेपालसामु कुवेतले पस्केको १ सय ४२ रनको लक्ष्य मात्र १५.५ ओभरमा २५ बल बाँकी छँदै पछ्यायो।

यस क्रममा पारसले ११ चौका र १ छक्का हिर्काए।

उनलाई शरद भेष्वाकरले राम्रो साथ दिए। भेष्वाकरले संयमित भएर खेल्दै नट आउट रहेर ३० बल ३८ रन बनाए। उनले यस क्रममा चार चौका र एक छक्का हिर्काए।

त्यस्तै, ज्ञानेन्द्र मल्लले १९ रनको योगदान दिए।

यसअघि, टस जितेर नेपालले कुवेतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन बनायो। कुवेतका लागि कप्तान मुहमद कासिफले सर्वाधिक ४९ रन बनाए। उनले मात्र ३६ बलमा २ चौका र ४ छक्का हिर्काउँदै सो रन बटुलो।

त्यस्तै, अदनान इद्रेसले २५ रनको योगदान दिए भने मोहमद असलामले २३ रनको योगदान दिए।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३–३ विकेट लिए। सन्दीपले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए भने रेग्मीले चार ओभरमा २० रन खर्चिए। यता, करन केसीले दुई विकेट लिए भने अविनास बोहराले १ विकेट लिए।

सिंगापुरमा जारी पाँच देश सम्मिलित प्रतियोगिताको पहिलो खेलमा कमजोर टोली कतारसँग चार विकेटले पराजित भएपछि नेपाललाई ठूलो दबाब परेको थियो। यद्यपि लगातार दुई खेलमा जीत निकाल्दै नेपालले छनोटको गणितिय सम्भावना कायम राखेको छ। छनोट हुन नेपालले बाँकी खेल जित्नै पर्ने दबाब छ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष टोली आगामी अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ। ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ। त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन्।

टिप्पणी लेख्नुहोस्