नेपाली खेलाडीहरुले घाँटीमा लगाएको मेडल खोसियो !
त्रिशुलीखबर
July 28, 2019


काठमाडौं, १२ साउन । सिंगापुरमा नेपाली क्रिकेट टिमले दोहोरो पीडा भोग्नु परेको छ। आयोजक सिंगापुरसँग ८२ रनले हारेपछि नेपाल टी २० विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन। यो नेपाली टोलीका लागि ठूलो झड्का हो।

अर्को झड्का त्यसबेला लाग्यो, जब उपविजेताको पदक खोसियो।

आयोजकले सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाइदियो। सुरुमा अविनाश बोहोरा गए, त्यसपछि कप्तान पारस खड्का। अरुले पालैपालो उपविजेताको मेडल लगाए।

त्यसपछि विजेता सिंगापुरका खेलाडीहरुलाई मेडल दिइयो। सिंगापुरका खेलाडीहरुले ट्रफी उचाले। जब नेपाललाई उपविजेताको ट्रफी दिने बेला आयो, नेपाली खेलाडीहरुले घाँटीमा लगाएको मेडल पनि खोसियो।

समान ४-४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाल तेस्रो भएको घोषणा गरियो। नेपाली खेलाडीहरुको मेडल टिम म्यानेजर रमन सिवाकोटीले एकमुष्ट फिर्ता गरेका छन्।

प्रतियोगिताको उपविजेता कतार हो। तर सुरुमा हतारमा नेपाललाई उपविजेता घोषणा गर्दै खेलाडीलाई मेडल लगाउनु आयोजकको गल्ती थियो। आयोजकले गल्ती विश्वकपको ग्लोबल छनोटमा पुग्न नसकेको पीडामा रहेका नेपाली खेलाडीहरुलाई आलो घाउमा नुनचुक छरे जस्तै सावित भयो।

टिप्पणी लेख्नुहोस्