अस्ट्रेलियामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु
त्रिशुलीखबर
July 28, 2019


एजेन्सी, १२ साउन । अस्ट्रेलियामा भएको कार दुर्घटनामा दुई जना नेपालीको ज्यान गएको छ। अष्ट्रेलियाको राजधानी क्यानबेरा नजिक शनिबार कार दुर्घटना भएको हो।

अस्ट्रेलियाको स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरूले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो।

क्यानबेरास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शुक्रबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए। अन्य १० जना क्यानबेरामै बसेका भए पनि खाना खाएर ५ जनाको समूह भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिडेको थियो। दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरुलाई उद्धृत गर्दै दूतावासले बताएको छ।

उक्त घटनामा घाइते भएका अश्विन कँडेलका अनुसार क्यानबेराबाट करिब २ घण्टाको बाटोमा रहेको उक्त स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेका थिए। कँडेलले दुर्घटनाको समयमा आफू निदाएकोले तत्कालै केही थाहा नपाए पनि दुर्घटनापछि सहयोगका लागि आपतकालीन सेवालाई सम्पर्क गरेको बताए। ‘फोनको ब्याट्री पनि नभएकोले घाइते अन्य साथीहरुसँग मुख्य रोडमा चलिरहेको गाडी रोकेर सहयोग मागेर प्रहरीलाई जानकारी गराउन सफल भयौं, कँडेलले भने।

बिदाको समयमा साथीहरु मिलेर हिउँ खेल्न शुक्रबार साँझ सिड्नीबाट स्नोई माउण्टेनका लागि उनीहरु ३ वटा गाडीमा हिँडेका थिए।

बिहान करिब ४ बजे भएको दुर्घटनामा सख्त घाइते दुईजनालाई हेलिकप्टरमार्फत उपचारका लागि क्याबेरा ल्याइएको थियो। उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ भने अर्का सामान्य घाइतेलाई घटनास्थल नजिकको कुमा अस्पतालमा उपचार गराइएको छ। क्यानबेराबाट ९० किलोमिटर टाढा भएको दुर्घटनापछि क्यानबेरा अस्पताल ल्याइएका घाइतेहरुको अवस्था बुझ्न कार्यवाहक राजदूत सापकोटाका साथै एनआरएन एसिटीका प्रतिनिधिहरु समेत अस्पताल पुगेका थिए।

घाइतेहरुलाई भेटेपछि कार्यवाहक राजदूत सापकोटाले मृतकहरुको बारेमा प्रहरीबाट जानकारी लिने प्रयास भइरहेको र घाइतेहरुलाई आवश्यक सहयोग पुर्याउन दूतावास तयार रहेको बताइन्। मृतकद्वयका साथै अन्य तीनजना सिड्नीको विश्वविद्यालयमा अध्ययन गरिरहेको बुझिएको छ। प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यम एबिसीले बताएको छ।

टिप्पणी लेख्नुहोस्