कुमार पौडेल हत्या प्रकरण छानबिन नभए राजपाले संसद अवरोध गर्ने
त्रिशुलीखबर
July 28, 2019


काठमाडौं, १२ साउन । राष्ट्रिय जनता पार्टी नेपाल राजपा का संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई घटनाको तत्काल छानबीन गर्न संसदीय समिति बनाउन सरकारलाई दवाव दिने बताएका छन्।

संयोजक यादवले सर्लाहीमा भएका मृत्यु प्रकरण छानबिनका लागि संसदीय समिति गठन नगरे भोली सोमबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने चेतावनी दिए।

उनले आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा सर्लाहीमा भएको दुईवटै मृत्यु प्रकरण गैर न्यायिक भएको दावी समेत गरे। यादवले भने, ‘आफ्नो पार्टीले संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको छ, त्यसमाथि सुनुवाई भएन भने भोली बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध हुन्छ।’

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रमुख प्रतिपक्ष दल काँग्रेस र राजपा नेपालले त्यसबारे सत्यतथ्य र न्यायिक छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै आएका छन्। यसै विषयलाई लिएर यसअघि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको थियो।

संयोजक यादवले गैरन्यायिकढंगले प्रहरीबाट मारिएका ती दुवै हत्या प्रकरणको छानबिन गर्न आफ्नो पार्टीको अडान रहेको दोहो¥याए।

पार्टीको आसन्न महाधिवेशनको तयारीको कामलाई पनि तिव्रता दिइरहेको उनले बताए। उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालसँग पार्टी एकताका लागि वार्ता प्रक्रियालाई जारी राखिएको पनि उनको भनाइ छ।

टिप्पणी लेख्नुहोस्