‘उदित नारायणलाई ज्यान मार्ने धम्की’
त्रिशुलीखबर
July 29, 2019


एजेन्सी । सयौँ नेपाली तथा हिन्दी चलचित्रका पाश्र्व गायक उदितनारायण झाले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।

अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको उनले खुलासा गरेका छन्। प्रहरीले उक्त फोन बिहारबाट आएको पत्ता लगाएको छ। यस्तै उनलाई फोन गर्ने नम्बर चोरीको रहेको पनि पत्ता लागेको छ।

अम्बोली प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक भरत गायकवाडका अनुसार उदितलाई पटक–पटक ज्यान मार्ने धम्की आइरहेको छ। ‘उदित नारायणका अनुसार फोनकर्ताले उनलाई धम्की दिइरहेको छ’, निरीक्षक गायकवाडले भने। यस्तो घटनासँगै प्रहरीले उदित नारायणको निवासमा सुरक्षा निगरानी बढाएको छ। सादा पोसाकमा खटिएका प्रहरी अधिकारीहरूले निरन्तर शंकास्पद व्यक्तिमाथि निगरानी गरिरहेका छन्।’

फोनकर्ताले लगभग एक महिनाअघि पहिलो पटक उदितलाई फोन गरेका थिए। दोस्रोपटक १७ जुलाई र तेस्रो पटक २३ जुलाईमा फोन आएको निरीक्षक गायकवाडले बताए।

प्रहरीको सोधपुछका क्रममा धम्की आउने नम्बर उदित बस्ने भवनमै रहेका सुरक्षा गार्डको रहेको पत्ता लागेको छ। उनको मोबाइल तीन महिना पहिले बिहार जाँदा रेलमा हराएको प्रहरी सोधपुछमा बताएका छन्। तर उनले फोन हराएको खबर प्रहरीलाई गरेका थिएनन्। प्रहरीले ती गार्डको मोबाइल फोन चोरी वा भेटिएको भए पनि त्यहाँ उदितको नम्बर सेभ रहेको बताएको छ।

टिप्पणी लेख्नुहोस्