कलंकी गोलीकाण्डमा पूर्वइन्जिनियर खनाल हतियारसहित समातिए
त्रिशुलीखबर
July 30, 2019


काठमाडौं, १४ साउन । काठमाडौंको कलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आरोपमा प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको छ।

प्रहरीले खनाललाई आज दिउँसो नियन्त्रणमा लिएको हो। प्रहरीले शुभाकरको घरबाट दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरेको छ। यी हतियार लाइसेन्स प्राप्त हतियार भएको प्रहरीले जनाएको छ।

गएराति ९ बजेतिर शर्माको घरलाई लक्षित गरि गोली प्रहार भएको थियो। गोली शर्माकी छोरी पढिरहेको तेस्रो तलामा रहेको कोठाको झ्यालबाट भित्र झरेको थियो। गोलीबाट कुनै मानवीय क्षती भने भएको छैन।

गएराति नै ११ बजे प्रहरीले खनालको घरमा खानतलासी गर्न खोज्दा ढोका नखुलेका कारण आज बिहान खानतलास गरेको हो।

यद्यपी, प्रहरीले खनालले नै गोली चलाएको भने दाबी गरेको छैन। लाइसेन्स प्राप्त हतियारबाट गोली चलेको जस्तो देखिएका कारण उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

टिप्पणी लेख्नुहोस्