आज पनि संसदमा कांग्रेस र राजपाको नाराबाजी, बैठक स्थगित
त्रिशुलीखबर
July 31, 2019


काठमाडौं, १५ साउन । प्रतिपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकको अवरोध कायमै राखेका छन्। बुधबार उनीहरूले प्रतिनिधिसभाको रोष्ट्रम अगाडि एक घण्टा नारा लगाएका हुन्।

प्रतिपक्षी दलहरूले सर्लाहीका दुई छुट्टा छुट्टै घटनालाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्।

विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु र सर्लाहीकै अर्को एक प्रदर्शनमा सरोज नारायण सिंहको प्रहरीको गोलीबाट मृत्यु भएको विषयमा प्रतिपक्षी दलहरूले संसदीय छानबिन माग गर्दै आएका छन्।

बुधबारबाट थप दुई विषयमा समेत प्रतिपक्षी दलहरुले नारा लगाएका छन्। उनीहरूले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कराबाही गर्न र मधेस आन्दोलनमा भएको भनिएको दमन छानबिन गर्न गठिन गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेका छन्।

प्रतिपक्षी दलहरूले संसदीय सर्वोच्चता कायम गर्न, मानवअधिकार हननको विरोधविरूद्ध नाराबाजी गरेका हुन्।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्ष राजपाबीच पछिल्लो समय सहकार्य देखिएको छ।

सभामुख कृष्णबहादुर महराले पटक–पटक आसन ग्रहण गर्न आग्रह गरे पनि एक घण्टा प्रतिपक्षी दलहरूले नारा लगाएका थिए। उनले प्रतिपक्षीले उठाएको विषयमा सदन र सरकारको ध्यानाकर्षण भएको बताए पनि प्रतिपक्षी दलहरूले बस्न अस्वीकार गरेका थिए। उनीहरूले छानबिन समिति गठन गरेर संसदीय सर्वोच्चता कायम गर्न माग गर्दै आएका छन्।

सभामुख महराले भने अवरोधले जनताका कतिपय समस्याहरू सदनमा प्रवेश गर्न नपाएको भन्दै त्यसले संसदीय सर्वोच्चता कायम नहुने बताए। महराले आफू बोल्ने बेला मात्र सदनको माइक अन गरेका थिए। नाराबाजीका बेला माइक काटिएको थियो।

‘माननीय सदस्यले उठाएको विषयमा सरकार र सदनको ध्यानाकर्षण भएको छ। संसद अवरुद्ध रोक्नुस्। आसन ग्रहण गर्नुस् छलफलमा भाग लिनुहोस्’, महराको आग्रह थियो, ‘सदनमा माननीय सदस्य बोल्न पाउने अधिकार कायम नहुँदा संसदीय सर्वोच्चता कायम हुँदैन। सबैलाई सदनमा बोल्न पाउने अधिकार सुनिश्चित नगर्दा संसदीय सर्वोच्चता कायम हुँदैन।’ प्रतिपक्षीको अवरोध जारी रहँदा सत्तापक्षका सांसदहरूले अदालतमा विचाराधीन विषय उठाएकोमा आपत्ति जनाएका थिए। लगत्तै महराले ‘अदालतमा विचाराधीन विषय बोल्न मनाही छ’ भन्दै रुलिङ गरेका थिए।

एक घण्टाको नाराबाजीपछि सभामुख महराले आगामी बैठक सुचारु गराउने अपेक्षा व्यक्त गर्दै बैठक १६ गते २ बजेसम्मका लागि स्थगित गरेका छन्।

टिप्पणी लेख्नुहोस्