जनआन्दोलनका जुझारु नेता योगेश भट्टराई पर्यटन मन्त्री, ४ बजे सपथ ग्रहण
त्रिशुलीखबर
July 31, 2019


काठमाडौं, १५ साउन । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए । नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

जनआन्दोलनका जुझारु नेता
योगेश २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी हुनुभयो । बसाइ त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित होस्टलमा थियो । त्यसबेला उहाँको जिम्मेवारी अखिलको केन्द्रीय सदस्यका रूपमा थियो । जनआन्दोलनका लागि अखिल र नेविसंघबाट समन्वय गर्ने समिति थियो । त्यो महत्वपूर्ण समितिमा अखिलका तर्फबाट समन्वयको जिम्मेवारी योगेशलाई दिइएको थियो ।

सुरुमा कांग्रेस र वामपन्थीको सहकार्य थिएन । उहाँहरूकै पहलकदमीबाट विद्यार्थीहरूले सहकार्यको सुुरुवात गरे । नारा तय भयो– आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ती पञ्चायतको अन्त्य । २०४६ फागुन ७ गते काठमाडौंको नयाँ सडकमा प्रर्दशन गर्ने कार्यक्रम थियो । उपत्यकाको कमान्डरका हिसाबले त्यसको व्यापक तयारीमा हुनुहुन्थ्यो योगेश । तर, ६ गते राति २ बजे उहाँलाई पक्राउ गरियो ।

केही दिनपछि सिन्धुुपाल्चोकको चौतारामा लगेर राखियो । प्रजातन्त्र आएपछि मात्रै उहाँलाई छाडियो । पञ्चायतले चुनौतीका रूपमा राखेको विद्यार्थी नेता भएकै कारण आन्दोलनको सुरुमै पक्राउ गरिएको थियो । उहाँ सम्झनुहुन्छ, ‘२६ गते राति हामीलाई पनि जेलबाट छोडियो । भोलिपल्ट हामीलाई बिहानै गाडीबाट काठमाडौं ल्याइयो । चौताराबाट आउँदा बाटैभरि रमाइला दृश्यहरू थिए । दोलालघाटमा धेरै मान्छेहरू रातो झन्डा बोकेर नाचगान गरिरहेका थिए । पहिलोपटक त्यति धेरै मानिसले कम्युुनिस्टको झन्डा बोकेर निस्किएको देख्दा असाध्यै खुसी लाग्यो । हामी सिधै खुलामञ्च गयौं । खुलामञ्चमा मनमोहन अधिकारी, गणेशमान सिंह, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई, साहना प्रधान, गिरिजाप्रसाद कोइराला लगायतले बोल्नुभयो । प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो ।

टिप्पणी लेख्नुहोस्