योगेशको अग्नी परीक्षा सुरु !
त्रिशुलीखबर
July 31, 2019


काठमाडौं, १५ साउन । २०५३ सालमा अनेरास्ववियुका अध्यक्ष भएका योगेश भट्टराई बल्ल मन्त्री बनेका छन्। ७४ को चुनावमा ताप्लेजुङको उनकै निर्वाचन क्षेत्रमा गएर प्रधानमन्त्री केपी ओलीले ‘जिताएर पठाए मन्त्री बनाइदिने’ वाचा जनतालाई दिएका थिए। सो वाचा पनि बल्ल पुरा भएको छ। वाचा पुरा भएसँगै योगेशको अग्नी परिक्षा पनि सुरु भएको छ।

रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा प्रायः अधिकारीकै कार्यकक्षमा भेटिने योगेशले रवीन्द्रको निधनपछि रिक्त रहेको त्यही पर्यटन मन्त्रालय ६ महिनापछि सम्हाल्ने अवसर पाएका छन्। भनिन्छ, रवीन्द्रले योगेशसँग देशको समृद्धि र विकास अनि पार्टीको भविश्यका धेरै सपना सुनाएका थिए। अब रवीन्द्रका बाँकी सपना पूरा गर्ने अभिभारा पनि योगेशकै काँधमा आएको छ।

नेपाली राजनीतिका चर्चित र आशा गरिएका नेता हुन्, योगेश भट्टराई। पर्यटनमन्त्री भएपछि उनले विशेष गरी त्रिभुवन विमानस्थलको सुधार, आन्तरिक विमानस्थलहरु निर्माणदेखि पर्यटन विकासका योजना तथा वाइडबडी काण्ड आदिका बारेमा काम गर्नु पर्नेछ।

योगेशसँग धेरै मानिसहरुले समृद्धिको अपेक्षा लिएका छन्। धेरै अपेक्षा गरिएका र आशालाग्दो नेताबाट आशातीत काम नहुँदा शुभेच्छुकहरु निराश हुने गरेको यथार्थ योगेशले बुझेका छन्। हाम्रो देशको सरकारी संयन्त्रका कारण चाहेर पनि सोचेजस्तो काम गर्न सकिन्न भन्ने पनि उनले बुझेकै छन्। चुनौति छन् भनेर जिम्मेवारीबाट भाग्न कुनै नेतालाई छुट छैन। यो पनि योगेशले बुझेकै हुनुपर्छ।

अहिलेसम्म योगेश भट्टराई नेकपाभित्र कुनै दाग नलागेका र जनपक्षीय काम गर्ने नेताका रुपमा स्थापित छन्। विद्यार्थी राजनीति हुँदै पार्टीको पदाधिकारी तहमा पुगेर खारिए पनि जनप्रतिनिधिका रुपमा उनी नयाँ हुन्। ४० को दशकमा महेन्द्र रत्न क्याम्पस ताहाचलको सभापति भएपछि एकैचोटि ०७४ मा ताप्लेजुङबाट सांसद बनेका भट्टराई सांसद भएको डेढ वर्षमै मन्त्री बन्न सफल भएका छन्।

टिप्पणी लेख्नुहोस्