फरेन्सिक जाँचपछि कलंकी गोलीकाण्ड अन्तै मोडियो
त्रिशुलीखबर
August 1, 2019


काठमाडौं, १६ साउन । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा ट्वीस्ट आएको छ।

प्रहरीले नियन्त्रणमा लिएको छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनालबाट बरामद गरिएको लाइसेन्स प्राप्त हतियारबाट गोली नचलेको फरेन्सिक जाँचबाट खुलेको हो।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सवेदीले सामाखुशीस्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको ब्यालेस्टिक जाँचको नतिजा ‘नेगेटिभ’ आएको पुष्टि गरे। सुवेदीका अनुसार अब यस सम्बन्धमा अन्य पाटोबाट पनि अनुसन्धान सुरु गरिने छ।

खनाललाई नियन्त्रणमा लिएर सोधपुछ गरिए पनि अन्य सबुत नभेटिएपछि साधारण तारेखमा छाडिएको थियो भने घरबाट बरामद दुई थान हतियार र ५० राउण्ड गोली परीक्षणका लागि पठाइएको थियो। महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकृतसमक्ष बयान दिने क्रममा पनि खनालले आफ्नो हतियारबाट गोली नचलेको दाबी गरेका थिए।

सोमबार साँझ शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा एक्कासी सिसा फुटेपछि हेर्दा २.२ एमएमको गोली भेटिएको थियो। घटना दूर्घटनावश भएको हुनसक्ने अनुसन्धान अधिकृतले आशंका गर्दै आएका थिए।

गोली कसले र कहाँबाट चलाएको थियो भन्ने बारे अझै खुल्न सकेको छैन।

टिप्पणी लेख्नुहोस्