मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा बालाजुमा दुई मजदुरको मृत्यु
त्रिशुलीखबर
August 2, 2019


काठमाडौं, १७ साउन । काठमाडौंको बालाजुमा शुक्रबार बिहान मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनरसिंह राणाका अनुसार बिहान ९ः५० बजे काठमाडौं महानगरपालिका १६, बालाजुचोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको हो।

उनीहरु सहोदर दाजुभाइ हुन्।

शुक्रबार बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यहीँ अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनी दुवैलार्इ बाहिर निकालेको थियो। डीएसपी राणाका अनुसार अर्धचेत अवस्थामा बाहिर निकालिएका दुवैलार्इ तत्काल शिक्षण अस्पताल लगिएको थियो। तर, अस्पतालले दुवैलार्इ मृत घोषणा गरेको छ।

अहिले उनीहरूको शव शिक्षण अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

टिप्पणी लेख्नुहोस्