नयाँ करको घोषणासँगै अमेरिका–चीन ‘व्यापार युद्द’ फेरी चर्कियो
त्रिशुलीखबर
August 2, 2019


काठमाडौं, १७ साउन । चीनको संघाईमा भएको अमेरिका–चीनबिचको व्यापार वार्ता सकिए लगत्तै दुई मुलुकबिचको व्यापार विवाद झनै चर्किएको छ।

अमेरिकी वार्ताकारहरु देश फर्के लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको वार्तामा प्रगति नभएको भन्दै थप ३ सय अर्ब डलर बराबरका चिनियाँ सामानमा नयाँ कर घोषणा गरेका छन्। ट्विटर मार्फत गरिएको यो घोषणामा आउने सेम्टेमवर महिनादेखि चीनबाट आयात हुने सामानमा सो रकम बराबरमा अमेरिकाले १० प्रतिशतले कर लगाउने छ।

यसअघि नै अमेरिकाले चीनबाट आयात हुने २ सय ५० अर्ब डलर बराबरका सामानमा २५ प्रतिशत कर लगाइसकेको छ। थप ३ सय अर्ब डलर बराबरका सामानमा पनि कर लगाएपछि अमेरिकाले चीनबाट आयात हुने लगभर सबै सामानमा कर थप हुनेछ।

अमेरिकाले पहिलो पटक सन् २०१८ को जुन महिनामा २ सय ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेको थियो। त्यो कर सन् २०१९ को जनवरीमा बढाएर २५ प्रतिशत पुर्याएको थियो। त्यसपछि चर्कंदो ‘व्यापार युद्द’ साम्य पार्न दुबै मुलुकका प्रतिनिधिहरुले धेरै पटक छलफल गरेका थिए। तीन महिनाअघि दुबै मुलुक सहमती नजिक पुग्न लागेको खबरहरु आएका थिए। तर, सम्झौता भने हुन सकेको थिएन।

अमेरिकाले दुई मुलुकका वार्ता टोलीबिच बनेका सहमतिबाट चीन एकाएकपछि हटेको दाबी गरेको थियो भने चीनले त्यसको खण्डन गर्दै आएको थियो। त्यसपछि लामो समयसम्म दुबै मुलुकबिच वार्ता हुन सकेन। गत जून महिनामा जापानको ओशाकामा भएको जी २० मुलुकहरुको शिखर सम्मेलनका बेला ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङले भेटेर व्यापार वार्ता पुनः सुरु गर्न सहमती जनाएका थिए। त्यहि भेटको परिणामस्वरुप दुबै देशका प्रतिनिधिहरुबिच केहि दिनअघि चीनको संघाइमा वार्ता भएको थियो।

ुव्यापार युद्द’ले चीनलाई शुरुमा अनुमान गरिए जस्तो असर नपुर्याउने भएपछि हतारमा सम्झौता नगर्ने रणनीति चीनले लिएको टिप्पणी अन्तर्राष्ट्रिय संचार माध्यमहरुले गरेका छन्।

राष्ट्रपति ट्रम्पलाई भने सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपति चुनावको हतारो र चिन्ता छ। अघिल्लो कार्यकालमा उनले चीनसँगको व्यापार घाटालाई चुनावको एउटा प्रमुख मुद्दा बनाएका थिए। अमेरिकाको पक्षमा सम्झौता टुंग्याउन पाउँदा उनलाई चुनावमा ठुलो फाइदा पुग्छ। साथै यो व्यापार युद्दले अमेरिकामा सबैभन्दा ठूलो नाक्सानी भटमास उत्पादक किसानहरुलाई पुर्याएको छ।

चीन अमेरिकाको सबैभन्दा ठूलो भटमास आयातकर्ता हो। अमेरिकी राष्ट्रपति ट्रम्पका प्रमुख ठूला समर्थक तिनै किसान हुन्।

चीनले पनि अमेरिकाले आफ्ना आयातमा लगाएको शुल्कको बदलामा अमेरिकाबाट आयात हुने भटमास लगायतका वस्तुमा कर थपेको छ। जापानमा राष्ट्रपति सीसँग भएको पछिल्लो बैठकमा ट्रम्पले चीनलाई अमेरिकाबाट तत्काल ठूलो परिणाममा भटमास किन्न मनाउने प्रयास गरेका थिए। यसपटकको संघाई वार्तामा पनि चीनले अमेरिकाबाट भटमास किन्ने कुरामा कुनै आश्वासन नदिएपछि ट्रम्प रिसले चुर भएको बताइन्छ।

चीनले पनि अब अमेरिकी राष्ट्रपतीको चुनाव सकिनु अगाडी सम्झैतामा पुग्न चासो नदेखाउने धेरै विश्लेषकहरुको अनुमान छ।

टिप्पणी लेख्नुहोस्