नुवाकोट–रसुवा सडकखण्ड खोल्न नुवाकोट कांग्रेसको आन्दोलन सुरु
त्रिशुलीखबर
August 2, 2019


काठमाडौं, १७ साउन । नेपाली कांग्रेस नुवाकोटले नुवाकोट–रसुवा सडकखण्ड अबिलम्ब संचालन गर्न भन्दै आन्दोलनको घोषणा गरेको छ। गत आषाढ २९ गते नै भौतिक पुर्वाधार तथा यातायत मन्त्री रघुबिर महासेठको कार्यकक्षमा नुवाकोट कांग्रेसका नेताहरु पुगेर अबिलम्ब सडक सुधारका लागि पहल गर्न माग गरेका थिए। सो बारे चासो नदिएको भन्दै कांग्रेसले आन्दोलन थाल्ने भएको हो।

नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदिश्वर नरसिंङ केसीद्वारा हस्ताक्षरित माग पत्र बोकेर मन्त्री महासेठ कहाँ केसीसहित नेता रमेश महत लगायतका कार्यकर्ता पुगेका थिए। हस्ताक्षरित वक्तव्यमा नुवाकोट–रसुवा जाने तिनवटै राजमार्गहरु गल्छी–त्रिशुली–रसुवागढी, बालाजु–ककनी–त्रिशुली र टोखा–छहरे विगतको सरकारबाट टेन्डर भई निर्माण व्यवसायीले जिम्मा पाइसकेको अवस्थामा समेत सडक अवरुद्ध भएको अवगत गराइएको थियो। नुवाकोट कांग्रेसले यसबारे पटक–पटक सम्बन्धित कार्यालयमा जानकारी गराउँदा पनि सुनुवाई नभएको भन्दै सडक अबिलम्ब सुचारु नभए आन्दोलनमा उत्रने बताएको थियो।

ज्ञापनपत्र बुझेका मन्त्री महासेठले सो सडक सात दिनभित्र आफैं निरीक्षण गरी संचालन गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए। तर, सो सडकखण्डमा आजसम्म पनि कुनै काम अगाडी नबढेका कारण बिरामी बोक्ने एम्बुलेन्स तथा नियमित यातायातहरू आवत–जावत गर्ने अवस्था छैन। ‘यस्तो अवस्थामा हामीसँग आन्दोलन गर्न वाहेक अर्को विकल्प छैन’, नेता महतले बताए।

नेता महतका अनुसार नेपाली कांग्रेस लिखु–काठमाडौं सम्पर्क समिति र नेपाली कांग्रेस टोखा नगरपालिका १, २ र ३ वडाले भोली शनिवार ७ बजे सयुक्त रूपमा टोखा नगरपालिकास्थित जगात बसपार्कमा भेला हुन आफ्ना कार्यकर्तालाई अनुरोध गरेको छ। आन्दोलनको प्रकृति कस्तो हुने बारे भने बताइएको छैन।

टिप्पणी लेख्नुहोस्