पत्रकार पुडासैनी चितवनमा मृत भेटिए
त्रिशुलीखबर
August 6, 2019


चितवन, २२ साउन । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।

उनी सोमबार दिउँसो ३:३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । राति खाना खान बोलाउन होटलका कर्मचारी जाँदा कोठाको चुकुल लामो समयसम्म नखोलेपछि राति नै प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

उनको झुण्डिएको प्रकृत्ति हेर्दा दायाँ खुट्टा खाटमा टेकेको र माथि सिलिङमा रहेको फ्यानमा डोरी झुण्ड्याएर पासो लगाएका छन् । सो डोरीले तलको भुर्इं छोएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. २ कुमरी घर भएका पत्रकार पुडासैनी हालै माउण्टेन टिभीमा काम गर्न थालेका थिए । उनले सो टिभीमा मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।

यसअघि, उनी न्यूज २४ को सीधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए ।

उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्