नेपालको कूल बजेटभन्दा व्यापार घाटा ठूलो
त्रिशुलीखबर
August 6, 2019


काठमाडौं, २१ साउन । नेपालको वैदेशिक व्यापार घाटा वार्षिक बजेटभन्दा बढी भएको छ । संघीय सरकारले आव ०७५/७६ मा ल्याएको बजेटभन्दा देशले व्यहोरेको व्यापार घाटा बढी भएको हो ।

सरकारले उक्त आवका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, सोही आवमा नेपालले कुल १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । यसलाई आधार मान्दा पनि संघीय सरकारले ल्याएको बजेटभन्दा देशको कुल व्यापार घाटा ६ अर्ब २६ करोडले बढी देखिन्छ । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले मध्यावधि समीक्षामार्फत आव ०७५/७६ को बजेटलाई घटाएर ११ खर्ब ११ अर्बमा झारेका छन् । राजस्व परिचालन र खर्च गर्ने क्षमता नबढ्दा बजेट घटाउने प्रवृत्ति छ । संशोधित बजेटको आकारलाई हेर्दा बजेटभन्दा व्यापार घाटा २ खर्ब १० अर्बले बढी देखिन्छ ।

गत आवमा नेपालको वैदेशिक व्यापार १४.६ प्रतिशतले बढेर १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कुल आयात १३.९३ प्रतिशतले १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ भने निर्यात १९.३६ प्रतिशतले बढेर ९७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । नेपालको अर्थतन्त्र (जिडिपी)को आकार ३४ खर्ब रुपैयाँ बराबरको पुगेको छ । सोअनुसार नेपालले व्यापार घाटा कुल जिडिपीको एकतिहाइ नाघिसकेको छ ।

पछिल्ला दश वर्षमा नेपालको व्यापार घाटा ६ गुणाले बढेको देखिएको छ । वैदेशिक व्यापारसँगै आयातको वृद्धिदर उच्च हुँदा निर्यात वृद्धि भने सुस्त भएको देखिन्छ । जसका कारण व्यापार घाटा चुलिएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०६५/६६ मा नेपालको व्यापार घाटा २ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो । आव ०७५/७६ मा आइपुग्दा व्यापार घाटा करिब ६ गुणाले बढेर १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

आव ०६५/६६ मा नेपालको वैदेशिक व्यापारको आकार ३ खर्ब ४९ अर्ब रुपैयाँको थियो । आव ०७५/७६ मा आइपुग्दा कुल वैदेशिक व्यापार झन्डै ५ गुणाले बढेर १५ खर्ब १५ अर्ब रुपैयाँबराबरको पुगिसकेको छ । सोही अवधिमा नेपालको आयात पनि करिब ५ गुणाले बढेर १४ खर्ब १८ अर्ब पुगिसकेको छ । तर, निर्यात भने दोब्बर पनि हुन सकेको छैन । आव ०६५/६६ मा नेपालले ६५ अर्ब रुपैयाँको निर्यात गरेको थियो । समीक्षा आवमा आइपुग्दा निर्यात भने डेढ गुणाले बढेर ९७ अर्ब रुपैयाँ पुगेको छ ।

बढ्दो व्यापारमा आयातको तुलनामा निर्यात वृद्धि सुस्त हुँदा नेपालको व्यापार घाटा ६ गुणाले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

टिप्पणी लेख्नुहोस्