नेपालमा नक्कली नोटको बिगबिगीः ४ पक्राउ
त्रिशुलीखबर
August 9, 2019


धनगढी, २४ साउन । धनगढीबाट प्रहरीले नक्कली नोट र नोट छाप्ने मेसिनसहित चार जनालाई पक्राउ गरेको छ । शुक्रबार कैलाली प्रहरीले मेसिनसहित पक्राउ परेका चार जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रहरीले चुरे गाउँपालिका –१ का २५ वर्षीय खग्रेन्द्र बम भनिने खगेन्द्र रजवार, सोही वडाकै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका –३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरीको बर्दिवास नगरपालिका –६ का २५ वर्षीय गोकुल खड्कालाई पक्राउ गरेको छ । तीन जनालाई धनगढीबाट फरक–फरक मितिमा पक्राउ गरिएको र खड्कालाई भने सिआइबी टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको २ सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोटसमेत बरामद गरिएको छ । यस्तै छापेर काट्न बाँकी नेपाली पाँच सय दरका ९८ गोटा नोट, पाँच सय दरकै भारतीय ८६ गोटा नोट, भारतीय पाँच सय दरको पछाडिको भाग छापिएको ४ गोटा नोट बरामद गरिएको छ ।

प्रहरीका अनुसार माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० गोटा नोट, पछाडिको भाग मात्र छापिएको पाँच सय दरकै ८ गोटा नोट, पाँच सय दरकै तल्लो पछाडिको भाग छापिएको १२ गोटा नोटसहित स्टिलको दराजमा राखिएको एक हजार दरका ६८ गोटा नोटसमेत बरामद गरेको छ ।

उनीहरूको साथबाट विभिन्न हिसाबकिताब लेखिएको डायरी, कैँची, स्केल, मोबाइल र रेडियो सञ्चार, एफएमगढी बैतडी लेखिएको स्ट्रयाम्प पनि बरामद गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यस्तै प्रहरीले यसअघि नक्कली नोटसहित पक्राउ परेका थप तीन जनालाई पनि सार्वजनिक गरेको छ । नक्कली नोटसहित पक्राउ परेका कैलारी गाउँपालिका –५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी र अवैध भारतीय रुपैयाँसहित पक्राउ परेका भारतको लखिमपुर खिरी बस्ने श्रवणकुमार सिंह र सोही ठाउँका गुरुजित सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो ।

केही समययता कैलालीका विभिन्न स्थानमा नेपाली र भारतीय नक्कली नोट भेटिन थालेपछि प्रहरीले खोजी कार्यमा सक्रियता बढाएको छ ।

टिप्पणी लेख्नुहोस्