केपी ओली स्वदेश फिर्नासाथ सूर्य थापामाथि कारबाही हुने
त्रिशुलीखबर
August 11, 2019


काठमाडौं, २६ साउन । नेकपाका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डविरुद्ध लगातार सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा भ्रमपूर्ण प्रचार गरेको भन्दै नेकपा केन्द्रीय सदस्य सूर्य थापामाथि कारबाही गर्न नेतृत्वमाथि दबाब परेको छ ।

पूर्वमाओवादी पक्षधरले थापामाथि हदैसम्मको कारबाही गर्न नेतृत्वसमक्ष आग्रह गरेको हो ।

पार्टी एकता यता थापाले प्रचण्डविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आएका छन् । पछिल्लोपटक प्रचण्डले राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो नेतृत्वमा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धका क्रममा ‘कसैको एक लपेटो नखाएको र कसैलाई एक लपेटो पनि नलगाएको’ अभिव्यक्ति दिएको प्रति थापाले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका थिए । थापाले लेखेका छन्, ‘आफ्नो यस ६५ वर्ष लामो महान् जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लेपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देशन र नेतृत्वचाहिं मेरै हो । जे जति मारिए, ती सबका सब केबल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।’ थापाले लेखेका छन्, ‘विगतमा महान् र हाल परित्याग गरिसकिएको जनयुद्धमा मर्ने र मार्ने कार्यको दोषको भारी एकजना मनैदेखिको शान्तिकामीको हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी सम्भव हुन्छ ?’

नेकपाका एक नेताले थापाको अराजक र अनुशानहीन प्रवृत्तिबारे पार्टी नेतृत्व जानकार रहेको र उनीमाथि कारबाही हुने बताए । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली मुलुकबाहिर रहेकाले स्वदेश फर्केपछि कारबाही गरिने ती नेताको कथन छ । उनका अनुसार ओली विदेशबाट फर्केपछि अध्यक्ष प्रचण्डले थापामाथि कारबाहीको एजेण्डा पार्टी बैठकमै लैजाने तयारी गरेका छन् ।

युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले पार्टी अध्यक्षबारे अनुशानहीन टिप्पणी गरे पार्टी नरहने चेतावनी दिएका छन् । उनले पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिन थापालाई सुझाव दिएका छन् ।

थापामाथि रक्षामन्त्रीसमेत रहेका नेता ईश्वर पोखरेलको उक्साहटमा योजनाबद्ध रुपमा प्रचण्डको तेजोबध गर्न सक्रिय रहेको आरोप पूर्वमाओवादी पक्षधरले लगाएका छन् । थापा नेता पोखरेल निकट मानिन्छन् । पार्टी एकताका क्रममा तत्कालीन एमाले उप–महासचिव विष्णु पौडेललाई महासचिवमा बढुवा गरेको र आफूलाई घटुवा गरेकामा पोखरेल असन्तुष्ट छन् । प्रचण्डले अर्का अध्यक्ष ओलीकै सहमतिमा पौडेललाई महासचिव प्रस्ताव गरेका थिए ।

टिप्पणी लेख्नुहोस्