एस जयशंकर नेपाल आउँदै, नेपाली नेतालाई दूतावासको भव्य भोज
त्रिशुलीखबर
August 11, 2019


काठमाडौं, २६ साउन । भारतीय विदेशमन्त्री एस जयशंकर आगामी ४ भदौमा नेपाल आउने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिने बताइए पनि जयशंकरको भ्रमणको उद्देश्य उच्च राजनीतिक भेटवार्ता हो ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली लगायतका नेतासँग भेट्ने कार्यक्रम छ ।

जय शंकर आएको अवसरमा नेपाली शीर्ष नेतृत्वलाई भारतीय दूतावासले लैनचौरस्थित दूतावासमा रात्रिभोजको आयोजना गरेको छ । यसअघि तरकारीमा विषादी परीक्षण र आइफा अवार्डजस्ता विवादका कारण हुनै लागेको जयशंकरको भ्रमण एकाएक रोकिएको थियो ।

गत महिना मात्र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख नेपाल आएर फर्केका थिए ।

जयशंकर नेपालमा संविधान जारी गर्ने समयमा विदेश सचिव थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएका उनले तत्कालका लागि संविधान जारी हुन नदिन अनेक प्रपञ्च र धम्की दिएका थिए । तर, त्यसबेलाका प्रधानमन्त्री शुशील कोइरालाले भारतीय दबाब स्वीकार गरेनन् र संविधान जारी गरे । आफ्नो चाहनाविपरीत संविधान जारी गरेको भन्दै भारतले नेपाल र यहाँका राजनीतिक नेतृत्वमाथि बारम्बार अनावश्यक धम्की दिने गरेको जानकारहरु बताउँछन् ।

टिप्पणी लेख्नुहोस्